|  

दार्चुलामा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरु

११ श्रावण, काठमाडौं ।  भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो। करिब नेरु ७.५ करोड लागतमा निर्माण हुने उक्त विद्यालय भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण हुन लागेको हो। परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो दार्चुला जिल्लामा सञ्चालनमा रहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। शिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा उपलब्ध गराइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप गुणस्तरीय र सहज सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासका अनुसार भारत र नेपालबीचको घनिष्ठ छिमेकी सम्बन्धअन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माण गरी नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई सहयोग पुर्‍याउने भारत सरकारको प्रतिबद्धता निरन्तर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।