|  

भोर्लेटारमा धन्सार भत्किँदा दुई जनाको मृ#त्यु, दुई जना घाइते

१२ श्रावण, काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान चितीखोलाबाट भाटबेशी ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले विष्णुदत्त सुवेदीको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्किएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट पुगेको प्रहरी टोलीले धन्सारभित्र पुरिएका चार जनाको उद्धार गरेको थियो ।

उद्धारपछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसंकू स्वास्थ्य चौकी, रामबजार लगिएको र थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको थियो । उपचारका क्रममा मध्यनेपाल–७ भाटबेशीका ५९ वर्षीय टिकबहादुर विक र १५ वर्षीया बिनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल दुवैको अवस्था मध्यम रहेको छ।