|  

सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता

१२ श्रावण, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो । नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए ।

साथै, पाँचथरसहित विभिन्न जिल्लामा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकार र संसद्ले प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

साथै उनले नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको विषय उठाउँदै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन पनि आग्रह गरेका थिए।