|  

स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय हुँदै, अस्पताल हिंसा रोक्न सरकारको तयारी

१२ श्रावण,काठमाडौं । स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ पुनः सक्रिय बनाउने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयका अनुसार ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार गठन भएको समितिलाई नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मीको सुरक्षा, अस्पतालको संरक्षण र सुरक्षा व्यवस्थासम्बन्धी नीतिगत कामलाई प्रभावकारी बनाइनेछ। समितिले स्वास्थ्य संस्थाको सुरक्षा योजना स्वीकृत गर्ने, गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय गर्ने, सुरक्षा नीतिबारे सरकारलाई सुझाव दिने, सुरक्षा चुनौतीका घटनाको छानबिन तथा अनुसन्धानमा सहयोग गर्ने र अदालतको आदेशअनुसार क्षतिपूर्ति कार्यान्वयन गराउने जिम्मेवारी पाउनेछ।

समितिमा मन्त्रालय, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल आयुर्वेद चिकित्सक सङ्घ तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू रहने व्यवस्था छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारमाथि दबाब बढिरहेका बेला मन्त्रालयले समितिलाई पुनः सक्रिय बनाएर तत्कालीन समस्या समाधान र आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको जनाएको छ।