|  

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल

१२ श्रावण,काठमाडाैं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताएकी छन् ।

मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् । प्रश्तावित आयुक्त वाग्लेको कार्ययोजना र अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपनेता अर्यालले उनको कानून पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भएपनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको उल्लेख गरिन् । छलफलका क्रममा अर्यालले निर्वाचनका बेला आयोग, सुरक्षा निकाय र मतदान केन्द्रमा खटिने कर्मचारीहरूबीच प्रभावकारी समन्वय नहुँदा सुरक्षा चुनौती थपिने गरेको बताए । विशेषगरी संवेदनशील क्षेत्रहरूमा आपसी समन्वयको अभावले बेवारिसे स्थिति सिर्जना हुने गरेको उनको भनाइ छ ।

उपनेता अर्यालले निर्वाचनका क्रममा भएका गम्भीर त्रुटीहरूका बारेमा पनि आयोगको ध्यानाकर्षण गराए । ६० प्रतिशत मत खस्न गाह्रो हुने ठाउँमा ९९ प्रतिशत मत खस्दा पनि आयोगले त्यसलाई स्वाभाविक मान्नु विडम्बनापूर्ण रहेको उनले टिप्पणी गरे । वैदेशिक रोजगारीमा गएका र मृत्यु भइसकेका व्यक्तिका नाममा समेत मतदान हुने गरेको प्रमाण पेस गर्दा पनि आयोगले त्यसलाई तथ्यका रूपमा स्वीकार नगरेकोमा उहाँले आपत्ति जनाए । उनले भने,‘जहाँ अनुचित कार्य र धाँधली भइरहेको छ, त्यहाँ आयोगले तत्काल एक्सन लिन नसक्दा त्यस्ता प्रवृत्तिले प्रश्रय पाएका छन् । बुथ कब्जा गर्ने, प्रतिनिधिहरूलाई थुन्ने र भिडियो प्रमाण हुँदाहुँदै पनि आयोगले कारबाही नगर्नु दुःखद् पक्ष हो ।’

प्रश्तावित आयुक्तले अघि सारेको बायोमेट्रिक मतदाता पहिचान प्रणालीको स्वागत गर्दै अर्यालले यसको खर्च व्यवस्थापन र कार्यान्वयनको सम्भाव्यतामाथि प्रश्न उठाए । नेपालको आफ्नै स्रोत र साधनले यसलाई कसरी धान्न सक्छ भन्नेमा स्पष्टता हुनुपर्ने उनको धारणा छ ।  निर्वाचनसम्बन्धी कानुनको परिमार्जन र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा पनि ठोस पूर्वाधार र रोडम्याप आवश्यक रहेको उनले बताए । उम्मेदवारहरूको आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उनले संवाद र छलफलमार्फत नै निर्वाचन प्रणालीलाई थप परिष्कृत बनाउन सकिने विश्वास व्यक्त गरे । न्युज एजेन्सी नेपाल