|  

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

१२ श्रावण, काठमाडाैं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ।

अघिल्लो दिन ३३.२८ अंकले ओरालो लागेको नेप्से मंगलबार थप ४.६४ अंक घट्दै २ हजार ६९६.०९ विन्दुमा कायम भएको हो। दिनभर उतारचढाव देखिएको बजार दिउँसो १२:१० बजे २ हजार ६८१ विन्दुसम्म झरेको थियो। कारोबार रकममा समेत कमी आएको छ। सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित भयो। मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचक सामान्य घटबढ भए। फाइनान्स, होटल तथा पर्यटन, व्यापार र जलविद्युत् समूह भने बढेका छन्।नयाँ सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।

यस्तै याम्बलिङ हाइड्रोपावर, सिर्जनशील लघुवित्त र सानीगढी हाइड्रोपावरका लगानीकर्ताले पनि लाभ पाए। घट्ने कम्पनीतर्फ कुथेली बुखरी स्मल हाइड्रोपावर, धौलागिरि लघुवित्त र पञ्चकन्या माई हाइड्रोपावर अगाडि रहे। कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहे।