|  

उज्यालो नेपाल पार्टीको आरोप- सरकार प्रचारमा केन्द्रित, जनविश्वास बढाउन असफल

१२ श्रावण,काठमाडाैं । उज्यालो नेपाल पार्टीले सरकार सस्तो प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएको छ।

मंगलबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले अर्थतन्त्रमा देखिएको निराशा हटाएर जनतामा आशा र विश्वास जगाउने काममा सरकार गम्भीर हुनुपर्ने बताएको हो। पार्टीले सरकारका सकारात्मक र जनहितकारी कदमलाई सहयोग गर्ने तर जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, भ्रष्टाचार संरक्षण र राज्य सञ्चालनमा देखिएका कमजोरीको लोकतान्त्रिक ढंगले विरोध गर्ने निर्णय गरेको जनाएको छ।

अध्यक्ष कुलमान घिसिङले संविधान, कानुन र प्रक्रियाभन्दा व्यक्ति वा पदलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको भन्दै यसले लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कमजोर पार्न सक्ने चेतावनी दिए। उनले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका कर्मचारीमाथि हस्तक्षेप गर्दा कर्मचारीतन्त्र निरुत्साहित बनेको दाबी गरे। बैठकले ‘हरित क्रान्ति, समृद्ध नेपाल’ अभियानलाई दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणको मार्गका रूपमा अघि बढाउने निर्णय गरेको पनि घिसिङले जानकारी दिए।