|  

निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता

१२ श्रावण, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ । 

मंगलवार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तिब्र गतिमा कार्यान्वयन भइरहेको समेत बताउनु भयो । उहाँले पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तिब्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । आवश्यक कानूनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार सुधार, वित्तीय क्षेत्र सुधार र लगानी वातावरण सुदृढ गर्ने काम पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन् । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ । त्यसैले आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔं । नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔं ।  आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्दछ । लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई अब हामी सँगै पुनस्र्थापित गरौँ । सरकारको प्रतिबद्धता स्पष्ट छ । निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ । उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा हामी स्पष्ट छौं । सरकार सुधारको गति बढाउनेछ । अवरोध हटाउनेछ र निजी क्षेत्रका साथ निरन्तर उभिनेछ । आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न हामी गम्भीर छलफल गर्दैछौं । हामी सबैको साझा लक्ष्य एउटै होः लगानी, उत्पादन र उत्पादकत्वबाट नेपालको आर्थिक भविष्य निर्माण गर्ने ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहो¥याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरुलाई आग्रह पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल