१२ श्रावण, काठमाडौं । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ।
प्रतिनिधि सभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गुइत टोलस्थित पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थलको उद्घाटन गरेका हुन्। कार्यक्रममा उद्घाटन पट्टिका अनावरणसँगै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार विशेष समारोह पनि सम्पन्न गरिएको थियो। उद्घाटन कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारी, स्थानीय समुदायका प्रतिनिधि तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब नेरु १२ करोड लागतमा महाविहार र आगमको पुनर्निर्माण गरिएको हो। परियोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रष्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेज (INTACH) ले उपलब्ध गराएको थियो।
कार्यक्रममा सांसद जगदीश खरेलले स्थानीय समुदायको सक्रियता र ऐतिहासिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यस्ता प्राचीन सम्पदाको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले पुनर्स्थापनाका लागि भारत सरकारले गरेको सहयोगको पनि सराहना गरे।
नगर प्रमुख चिरीबाबु महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए। उनले स्थानीय समुदायको सहभागिताले पुनर्निर्माण कार्यलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।
भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने बताए। पुनर्निर्मित संरचनाहरू दुवै देशबीचको साझा सम्पदा, मित्रता र दीर्घकालीन सहकार्यको प्रतीक भएको उनको भनाइ थियो।
भारतीय राजदूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपालका आठ जिल्लामा ३० सांस्कृतिक सम्पदा स्थल, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याएको छ।
राजदूतावासले उक्त परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउनुका साथै नेपाल–भारतबीचको विकास साझेदारीलाई अझ मजबुत बनाएको जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar