|  

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि खर्च बढाइने

१३ श्रावण, काठमाडाैं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले बजेट पारित गरेको हो। स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ परिचालन गरिनेछ। आयोगका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको थियो। चालु वर्षमा थप ३५ करोड रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमानसहित कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ उपलब्ध हुने भए पनि त्यसबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ मात्रै खर्च गर्ने निर्णय गरिएको छ। आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च र ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको आयोगले जनाएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्रीलगायत आयोगका पदाधिकारी सहभागी थिए।