|  

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेट, संसद् सञ्चालन प्रभावकारी बनाउने विषयमा छलफल

१३ श्रावण,काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र सभामुख डीपी अर्यालबीच बुधबार भेटवार्ता भएको छ।

विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटमा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेकपा नेता वर्षमान पुन तथा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए।

सभामुखले मंगलबार विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग समेत छलफल गर्दै आगामी संसद् बैठकका कार्यसूची र कार्य सञ्चालनलाई व्यवस्थित बनाउने विषयमा सुझाव लिएका थिए।