|  

मन्त्री बादी र युनिसेफ प्रतिनिधिबीच भेट, महिला तथा बालअधिकारका विषयमा सहकार्य बढाउने प्रतिबद्धता

१३ श्रावण, काठमाडाैं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच बुधबार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटमा महिला तथा बालबालिकाको अधिकार संरक्षण, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन, सामाजिक सुरक्षा विस्तार र समुदायमा आधारित सेवा प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री बादीले महिला, बालबालिका र जोखिममा रहेका समुदायको जीवनस्तर सुधार गर्ने नीति तथा कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक सुरक्षाको पहुँच विस्तारमा युनिसेफलगायत विकास साझेदारको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा र सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।