|  

समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी

१३ श्रावण, काठमाडाैं । वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न वागमती प्रोस्कुनले भुमिका खेल्नुपर्ने समेत बताए । उनले प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरण रहेको समेत उल्लेख गरे । उनले संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गरे। पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिए । उनले भने,‘हामीले सहकारी ऐन संशोधन कुरा गरिरहेको थिएँ । उक्त संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट स्वीकृत समेत भइसकेको अवस्था छ । सहकारी क्षेत्रको हकहितको लागि र सहकारीलाई थप बलियो कसरी बनाउन सकिन्छ  भनेर सरोकारावालाहरुके सुझावका आधारमा संशोधन प्रश्ताव गरिएको छ । उक्त ऐन छिट्टै आउँछ भन्ने मेरो विश्वास छ । आज सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्नको लागि वागमती प्रदेश वचत तथा ऋण सहकारी संस्थाले गरेका कामहरु प्रशंसनीय रहेका छन् । सहकारी क्षेत्रमा देखिएको समस्या हल गर्न तथा थप कार्यक्रमहरु गर्नको लागि बजेट समेत विनियोजन गरिएको छ । अहिले तपाईहरुलाई वचत तथा ऋणको कारोबार गर्न नपाउने भन्ने निर्णयले गाह्रो भएको होला । त्यसकै लागि कार्यक्रम सञ्चालन गर्न भनेर थोरै भएपनि बजेट छुट्याइएको छ । तपाईंहरु सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न, राम्रा सहकारीलाई पुरस्कृत गर्न तथा बिग्रिएका, समस्याग्रस्त सहकारीलाई सुधार गर्नको लागि अझै प्रभावकारी तरिकाले काम गर्न सक्नुहोस् भन्ने  विश्वास पनि लिएको छु । अहिले जसरी समस्याग्रस्त भएका र नभएका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने गरिएको छ । यसका अन्त्य गर्न पनि लाग्नुहोस् भन्ने सुझाव दिन चाहन्छु ।’

उनले सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न भुमिका खेल्न प्रोस्कुन बागमतीलाई आग्रह समेत गरे । –न्युज एजेन्सी नेपाल