|  

सुनसरी घटनापछि राष्ट्रपति पौडेलको अपिल : सद्भाव र राष्ट्रिय एकता जोगाउन आग्रह

१४ श्रावण, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जलगायत क्षेत्रमा देखिएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई आग्रह गरेका छन्।

बिहीबार जारी अपिलमा राष्ट्रपति पौडेलले नेपालमा लामो समयदेखि कायम रहेको सामाजिक, धार्मिक र जातीय सहिष्णुता नै मुलुकको पहिचान भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि हुन नदिन अपिल गरे। उनले राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई संयमित रहँदै शान्ति, अमनचयन र आपसी मेलमिलाप कायम गर्न आग्रह गरेका छन्। राष्ट्रपतिले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत हुन आग्रह गरेका छन्।

साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।