|  

कोशी-मधेशको अवस्था: ‘आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो’- गगन थापा

१५ श्रावण,काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा देखिएको संवेदनशील अवस्थाप्रति पार्टीका जनप्रतिनिधिहरूलाई संयम, सहिष्णुता र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

शुक्रबार कांग्रेसका तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिसँग भर्चुअल संवाद गर्दै थापाले वर्तमान परिस्थितिमा कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। ‘हामी मुख्य राजनीतिक शक्ति हौं, हामी अभिभावक हौं। त्यसैले आगो जसले लगाएको भए पनि त्यसलाई निभाउने जिम्मेवारी हाम्रो हो,’ उनले भने। थापाले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न कांग्रेसका जनप्रतिनिधिले अग्रसर भूमिका खेल्नुपर्ने उल्लेख गर्दै कुनै पनि परिस्थितिमा उत्तेजना बढाउने होइन, समाधान खोज्ने दिशामा अघि बढ्न आग्रह गरे।

साथै, उनले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना र अफवाहप्रति सजग रहन जनप्रतिनिधिहरूलाई सचेत गराए। तथ्य पुष्टि नगरी कुनै विषयमा प्रतिक्रिया दिनु वा धारणा सार्वजनिक गर्नु उपयुक्त नहुने उनको भनाइ थियो। ‘सामाजिक सञ्जालमा जे आयो, त्यसलाई तुरुन्तै सत्य मानेर टिप्पणी गर्ने वा धारणा बनाउने काम नगरौं। राजनीतिक नेतृत्वमा रहेका हामीले हरेक विषयलाई तथ्य, प्रमाण र विवेकका आधारमा मूल्यांकन गर्नुपर्छ,’ थापाले भने। उनले सार्वजनिक रूपमा आउने हरेक सूचना र घटनालाई भावनात्मक रूपमा होइन, सत्यता पुष्टि गरेर मात्र प्रतिक्रिया दिनुपर्नेमा जोड दिँदै राजनीतिक नेतृत्वले धैर्य, जिम्मेवारी र विवेक प्रदर्शन गर्नुपर्ने बताएका छन्।