|  

मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता

१५ श्रावण, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् । उनले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्न सबै राजनीतिक दल र नागरिक समाजका अगुवाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिएकी छन्। उनले सुनसरीसहित मेधशी जिल्लामा उत्पन्न धार्मिक दंगा नियन्त्रणमा सरकारको सुरक्षा संयन्त्रको कमजोरी भएको समेत बताए । तनाव सिर्जना हुनेबित्तिकै सरकारले हस्तक्षेप गरेर संवाद गरेको भए यस्तो अवस्था नआउने उनले बताए । उनले मधेशमा विभिन्न धर्मावलम्बीहरुका धार्मिकस्थल समेत रहेको उल्लेख गर्दै सोहीअनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सक्नुपर्ने बताए । उनले भने, ‘मधेशमा उत्पन्न विवादको विषयमा सरकारले शुरुमै हस्तक्षेप गरेको भए मिलाउन सकिन्थ्यो । तर त्यतापट्टि सरकारले ध्यान दिएन । मुलुकमा यस्ता समस्याहरु आइरन्छन् । यस्तो समस्या विगतमा पनि भएको थियो । मधेशको कुल जनसंख्या ६१ लाख १४ हजार ७ सय रहेको छ । महत्वपूर्ण धार्मिक थलोहरुमा जानकी मन्दिर, कन्कालीमाई लगायत रहेका छन् । तर त्यहाँ राम्रो प्रकारको सौहार्दता पनि छ । मुस्लिमले छठ गरेको पनि सौहार्दता छ । पछिल्लो समय भने  धार्मिक सौहार्दता र सहिष्णुता बिग्रदै गएको छ । त्यसकारण सबै राजनीति दलहरु र नागरिक समाजले यस्तो प्रकारको सामाजिक सद्भाव कायम गर्ने हिसाबले जानुपर्छ कि भन्ने मलाई लाग्छ । हामी वर्षमा एकचोटि प्रदेश जाने गर्दछौँ । त्यो बेलामा हामीले यस्ता कुरा पनि सँगै लिएर जानुपर्छ ।’

उनले मुलुकमा अगामी दिनमा यस्ता धार्मिक तथा जातीय दंगा हुन नदिने कुरामा सरकार सचेत हुन आवश्यक रहेको पनि बताएका छन् ।