|  

अब रास्वपा नेपालको राजनीतिमा लामो समयको चुनौती होइनः महासचिव पोखरेल

१५ श्रावण, काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गरेका हुन् । उनले रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दै यसलाई सहजै सामना गर्न सकिने बताए । रास्वपाजस्ता शक्तिलाई सामना गर्न एमालेले आफूलाई वैचारिक र सांगठनिक रूपमा तयार पार्नुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको भरोसा पुनः जित्न आवश्यक रहेको औंल्याएका छन् । महासचिव पोखरेलले भने, ‘पपुलिजम जसरी रातारात राष्ट्रिय शक्तिका रूपमा उदय भयो, त्यसको जग के हो भन्ने प्रश्न उठ्छ । मेरो बुझाइमा यसको आधार पपुलिजम, अपर्चुनिजम (अवसरवाद) र एनार्किज्म (अराजकतावाद) हो । यी तीनवटा आधारलाई टेकेर आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख राजनीतिक शक्तिका रूपमा उदय भएको छ । तर म यहाँ के भन्न चाहन्छु भने, जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ । त्यसैले ‘जति छिटो उदय, त्यति छिटो पतनको जोखिम’ भन्ने यथार्थलाई बुझ्न आवश्यक छ । यस अर्थमा म के भन्न चाहन्छु भने, रास्वपा नेपालको राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति होइन। त्यसलाई सामना गर्न सकिन्छ । तर त्यसका लागि सबैभन्दा पहिले हामी आफैँ तयार हुनुपर्छ । वैचारिक रूपमा हामीबाट टाढिएको नयाँ पुस्तालाई पुनः जोड्ने, हामीबाट अलगिएको आधारभूत वर्ग र समुदायलाई पार्टीसँग आवद्ध गर्ने, हामीबाट टाढिन पुगेको मध्यम वर्गको विश्वास पुनः जित्ने, तथा समाजमा रहेका भाषा, संस्कृति र विभिन्न समुदायलाई पार्टीसँग जोड्ने काम गर्नुपर्छ । यसका लागि हाम्रा नीतिहरूलाई कसरी अद्यावधिक गर्ने, काम गर्ने तौरतरिका र कार्यशैलीमा कस्ता परिवर्तन ल्याउने, हाम्रो सङ्गठनात्मक संरचनामा कस्तो सुधार गर्ने, तथा समग्र रूपमा पार्टीलाई कसरी पुनर्गठन गर्ने भन्ने विषय पार्टीको प्राथमिक एजेन्डा बन्नुपर्छ। खुसीको कुरा, पार्टी अहिले यही दिशामा अघि बढिरहेको छ ।’

समाजमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायलाई पार्टीसँग जोड्नका लागि नीतिहरू अद्यावधिक गर्नुपर्ने, कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने र सांगठनिक ढाँचामा सुधार गर्दै पार्टीलाई पुनर्गठित गर्नुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले पार्टी अहिले सोही दिशामा अगाडि बढिरहेको समेत स्पष्ट पारेका छन् । –न्युज एजेन्सी नेपाल