|  

मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग

१५ श्रावण, काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी पनि दिए । उनले सुनसरी र सिरहासहित मधेशी जिल्लामा उत्पन्न तनाव कम गर्न राज्यको प्रतिक्रियामा ढिलाई भएको टिप्पणी गरे । सरकारले अहिले देखाइरहेको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था यति जटिल नबन्नसक्ने उनको दाबी छ । सांसद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै उनलाई धन्यवाद समेत दिए ।

तराई मधेश क्षेत्रमा बारम्बार यस्ता घटना दोहोरिनुको कारणबारे गम्भीर अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै उनले कुनै एक समुदायलाई दोषारोपण गर्नु उपयुक्त नहुने बताए । उनले भने,‘साम्प्रदायिक उन्माद कुनैपनि समाजको लागि र देशको लागि राम्रो हुँदैन । यदि कुनै समस्या उत्पन्न हुन्छ भने समयमै त्यसको समाधान गर्नुैैपर्छ । यस विषयमा राज्य कतै न कतै चुकेको छ । त्यो मान्नुपर्छ । आउने दिनमा यस्तो नहोस् भन्ने कुरामा सरकार सरकार संवेदनशील हुनुपर्छ । र अहिले जुन संवेदनशीलता सरकारले देखाइरहेको छ यो दुई दिन अगाडि देखाएको भए सायद घटनाहरु यसरी बढ्ने थिएनन् । म रास्वपा सभापति रवि लामिछानेको प्रसंशा गर्न चाहन्छु र उहाँलाई धन्यावाद पनि दिन चाहन्छु । बारम्बार तराई मधेशमा मात्रै यस्ता घटनाहरु किन भइरहेका छन् ? यस्ता घटनाहरु पहिले पनि हुने गरेका छन् । भोलिको दिनमा पनि हुने सम्भावना छ । मेरो विचारमा यसका लागि एउटा जाँचबुझ आयोग बनाउनुपर्छ र गहिरो अध्ययन गर्नुपर्छ । किन भइरहेको छ ? कारण यो समूदाय वा त्यो समूदाय भनेर भन्नु उपयुक्त हुँदैन । नागरिक र सामाजिक सद्भावको विरुद्धमा जो छ त्यसका विरुद्ध राज्यले संवैधानकि सर्वोच्चता र कानूनको विधि स्थापना गर्नुपर्छ । यदि यसमा राज्य चुक्छ भने मुलुकले धेरै मूल्य चुकाउनुपर्नेछ ।’

उनले नागरिकको सुरक्षा र सामाजिक सद्भावविरुद्ध गतिविधि गर्ने जोसुकै भएपनि राज्यले संवैधानिक सर्वोच्चता र कानूनको शासनका आधारमा कारबाही गर्नुपर्नेमा जोड दिए ।–न्युज एजेन्सी नेपाल