|  

ब्रोड पिकमा ज्यान गुमाउने नेपाली आरोहीको पहिचान खुल्यो

१५ श्रावण, काठमाडाैं । पाकिस्तानको ब्रोड पिक हिमालमा मृत भेटिएका चार आरोहीमध्ये दुई जनाको पहिचान खुलेको छ।

मृतकमध्ये एक नेपाली र एक ओमानी नागरिक रहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। मृत नेपाली आरोही गोरखाका पुरबहादुर गुरुङ (युक्ता) हुन् भने अर्का ओमानका नधिरा अहमद अबदुल्लाह अल हार्थी रहेको खुलेको छ। अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघबाट मान्यता प्राप्त गाइड गुरुङ विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने अभियानमा थिए। उनले यसअघि सगरमाथासहित ८ हजार मिटर माथिका १२ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए। गुरुङ सन् १९२४ मा सगरमाथामा हराएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इर्भिनसँग सम्बन्धित ऐतिहासिक खोजी टोलीमा समेत सहभागी थिए।

ब्रोड पिकमा अझै दुई मृतकको पहिचान हुन बाँकी छ। नेपाली विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित अन्य ६ जना आरोही अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि पाकिस्तानी सेनाले हेलिकप्टर, ड्रोनलगायत उपकरण प्रयोग गरिरहेको छ।