|  

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप

१५ श्रावण, काठमाडाैं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाइन् । उनले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको टिप्पणी गरिन् । उनले सुनसरीसहित मधेशमा उत्पन्न धार्मिक तनाव उत्पन्न हुनुमा पहाडी-मधेशी भनेर विभाजित गर्ने प्रवृत्तिको उपज भएको बताएकी छन् । उनले नेपालको विशिष्ट राजनीतिक र सामाजिक परिस्थितिका कारण संघीय व्यवस्था आएको उल्लेख गर्दै यसको मूल उद्देश्य राज्यको सेवा प्रवाह र अधिकारको विकेन्द्रीकरण रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘मूलतः यो सरकार घृणा, द्वेष, भत्र्सना, विध्वंश र आगजनी सही थियो भन्नेकुरा स्थापित गर्दै आएको हो । माननीय मन्त्रीज्यू यहीँ हुनुहुन्छ, दुःखका साथ भन्नुपर्छ तपाईंहरु यसरी नै आएको हो । गोविन्द केसीको आन्दोलन र त्यसमा ऐक्यवद्धता गर्ने पनि तपाईं हो । आज मेडिकल शिक्षा कहाँ पुर्याउनुभयो । यस्तो कथाहरु जोडिँदै जालान् । सुनसरी यस्तै कुरा हो । संघीयता आउने बेलामा पनि यस्तै थियो । पहाडी र मधेशीयाको विभाजन कृष्णप्रसाद भट्टराई, उर्मिला अर्यालहरुलाई पहाडीया बनाएर शुरु गरिएको हो । जात र धर्मको पनि त्यसैगरी विभाजन शुरु गरिएको हो । संविधानमा हामीले यी तमाम असन्तुष्टिहरुलाई संघीयतासँगसँगै लिपिबद्ध गरेको हो । यो संघीयता हाम्रो विशिष्ट परिस्थितिमा आएको हो । यो सिंगो देश एकतामा जान नसकेर यस्तो भएको होइन, संघीयता आएको होइन । डेलिभरी र फंसनलाई हामीले विकेन्द्रीकरण गरेको हो । यतिमात्रै कुरा बुझ्नुपर्यो । तर यो कुरा राम्रो भएन । हामीलाई आजपनि दिग्भ्रमित पारिरहेका छन् ।’

उनले अहिले पनि संघीयताको विषयमा नागरिकलाई दिग्भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएकी छन् । –न्युज एजेन्सी नेपाल