|  

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल

१५ श्रावण, काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सिर्जना भएको सामाजिक तनावप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

अध्यक्ष दाहालले नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनैपनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । राष्ट्रिय सभा संविधान, लोकतान्त्रिक मूल्य र सामाजिक सद्भावको संरक्षणमा सदैव प्रतिबद्ध रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र साम्प्रदायिक सद्भाव अक्षुण्ण राख्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी उपाय अवलम्बन गर्न र घटनाको यथार्थ विवरण सार्वजनिक गरी शान्ति र विश्वासको वातावरण कायम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा पछिल्ला दिनमा भएका घटनाले हामी सबैलाई गम्भीर र चिन्तित बनाएको छ । यस घटनामा ज्यान गुमाउनु भएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । नेपालको संविधानले विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई आत्मसात गरेको छ । हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका कुनै पनि प्रयास अस्वीकार्य छन् । असन्तुष्टि र विवादको समाधान संविधान, कानून, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट मात्र सम्भव हुन्छ भन्ने विश्वास राष्ट्रिय सभाले पुनः व्यक्त गर्दछ । सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्दछु । साथै, सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्पूर्ण नागरिकलाई शान्ति, संयम, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न तथा अपुष्ट र भ्रामक सूचना प्रसार नगर्न अनुरोध गर्दछु । अन्त्यमा, संविधानको मर्म, लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण तथा प्रवद्र्धनमा राष्ट्रिय सभा सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दै आफ्नो मन्तव्य समाप्त गर्दछु ।’ 

यस संवेदनशील घडीमा उहाँले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई राष्ट्रिय हितलाई सर्वोपरी राखी शान्ति र भाइचाराको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।  सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक र उत्तेजक सामग्रीको प्रचारप्रसार नगरी प्रमाणित र आधिकारिक सूचना मात्र संप्रेषण गर्न उहाँले अनुरोध गर्नुभएको छ । अध्यक्ष दाहालले संविधानको मर्म र सामाजिक सद्भावको संरक्षणमा राष्ट्रिय सभा सदैव अग्रसर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।