|  

भारतको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु, ३.२ करोडको परियोजनाको शिलान्यास

१५ श्रावण, काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा बाँके जिल्लाको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.कले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। करिब ३ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिनेछ। परियोजना खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ। यो बाँके जिल्लामा सञ्चालन भइरहेको आठौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। भारतीय राजदूतावासका अनुसार नेपाल र भारतबीचको निकट छिमेकी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्य तथा पूर्वाधारलगायत प्राथमिकताका क्षेत्रमा सहयोग जारी रहेको छ। यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।