१६ श्रावण, काठमाडाैं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् ।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उनको तर्क छ । उनले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताए । साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे ।
इतिहासको सन्दर्भ जोड्दै उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गरे । गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै उनले चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताए । संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरे पनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए । उनकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उहाँले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गरे । नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्व कला र आकर्षक एजेण्डा हुनुपर्ने बताए । उनकाअनुसार नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उनले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गर्नुभयो । जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो ।
पछिल्लो समय उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले उनले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको बताए । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता÷राहदानी मुद्दा) का कारण उहाँले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको उनको विश्लेषण छ । सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको संग्रौलाले उल्लेख गरे । उनले भने,‘समाज वा समूह, जनता अथवा मास जे भन्नुहोस्, त्यसको आफ्नै भेडोपन हुन्छ । इतिहासका विभिन्न सन्दर्भमा यो देखिएको छ । पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पछाडि मानिसहरू यसरी लाइन लागे कि कति आशाले, कति त्रासले र कति भावनामा बगेर मतदान गरे होलान् । जहाँसम्म नजर पुग्थ्यो, माओवादीकै पक्षमा मतदान गर्न लाइन लागेको देखिन्थ्यो । तर दोस्रो संविधानसभा निर्वाचनमा त्यो भीड कहाँ हरायो ? यसपटक पनि एउटा चाखलाग्दो घटना देखियो । निर्वाचन परिणामपछि नेपाली समाजको मनोविज्ञान बुझ्न म केही साथीहरूसँग चितवनदेखि नवलपरासीसम्म तीन दिन घुमेँ। विभिन्न ठाउँमा धेरै मानिससँग कुराकानी गरियो। सोध्यौँ, भोट हाल्नुभयो ? जवाफ आयो, हाल्यौँ । कसलाई ? घण्टीलाई । उम्मेदवार को थियो ? बालेन । चितवनभरि उम्मेदवार बालेन, नवलपरासीभरि पनि उम्मेदवार बालेन। मतदान गरेका छन् तर वास्तविक उम्मेदवार को थियो भन्ने थाहा छैन । कर्मको आधार, त्यसको परिणति र तार्किकताबारे विचार नगरी निर्णय गर्ने प्रवृत्तिलाई नै गणेशमानको भेडोपन भन्न सकिन्छ । त्यसैले समाज वा सामाजिक मनोविज्ञानको चर्चा गर्दा यो भेडोपनबारे पनि बहस हुनुपर्छ ।
अब नेता र राजनीतिको सन्दर्भमा । असल र सफल नेतामा केही विशिष्ट गुण हुन्छन् । प्रभावशाली वक्तृत्व, आकर्षक एजेण्डा र जनतालाई प्रभावित गर्ने क्षमता हुन्छ । आफ्ना एजेण्डा, नारा वा प्रश्तुत गर्न खोजेको विचारलाई यति प्रभावकारी ढंगले प्रश्तुत गर्छ कि ठूलो जनसमूह आफ्नो वरिपरि आकर्षित गर्न सक्छ । नेपालमा मदन भण्डारी त्यस्ता नेता हुनुहुन्थ्यो, जसमा वक्तृत्व, तर्कशीलता र आक्रामक प्रश्तुतिको करिष्मा थियो ।
त्यसपछि रवि लामिछाने आउनुभयो । उहाँ को हुनुहुन्छ, कुन स्रोतबाट आउनुभयो भन्ने विषयमा म टिप्पणी गर्दिनँ । उहाँ मन पर्नु वा नपर्नु मेरो निजी कुरा हो । रवि लामिछानेले विभिन्न यथार्थ र भ्रम प्रश्तुत गर्दै आफ्नो वरिपरि ठूलो जनसमर्थन जुटाउनुभयो । हुन त भीड बालेनको पछि लागेको थियो, तर त्यो राजनीतिक शक्तिको बिजारोपण रवि लामिछानेले नै गर्नुभएको थियो । दुर्भाग्यवश, कानूनी विवादका कारण उहाँ कार्यकारी प्रमुख बन्न सक्नुभएन र त्यसपछि बालेनजी कामचलाउ पात्रका रूपमा अगाडि आउनुभयो ।’
समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित सो कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको सङ्केत गरे । -न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar