|  

मध्य मनसुनमा भित्रिए साढे ७१ हजार पर्यटक, बढ्दै चिनियाँ

१८ श्रावण, काठमाडौं । मनसुनको मध्य समय भए पनि नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ।

सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७ सय ७५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ जुलाईमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक नेपाल आएका थिए। जुलाई महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै २३ हजार ४ सय ९० जना पर्यटक नेपाल प्रवेश गरेका छन्, जुन कुल पर्यटक आगमनको ३२.७३ प्रतिशत हो। त्यसपछि चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८ सय ९० को तुलनामा ६१.०९ प्रतिशतले बढी हो। चिनियाँ पर्यटक आगमन कोभिडअघिको स्तरभन्दा समेत माथि पुगेको छ। सन् २०१९ जुलाईमा चीनबाट १० हजार २ सय १५ पर्यटक नेपाल आएका थिए भने सन् २०२६ जुलाईमा यो संख्या ८.६५ प्रतिशतले बढी देखिएको छ। पर्यटक आगमनका हिसाबले अमेरिका तेस्रो स्थानमा रहेको छ। जुलाईमा अमेरिकाबाट ७ हजार ७ सय ५४ पर्यटक नेपाल आएका छन्।

त्यस्तै, बंगलादेशबाट ४ हजार १ सय ७९, बेलायतबाट ३ हजार ७ सय ७३ र अस्ट्रेलियाबाट २ हजार ४ सय २८ पर्यटक नेपाल भ्रमणमा आएका छन्। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको हिस्सा सबैभन्दा ठूलो छ। जुलाईमा सार्क राष्ट्रबाट २९ हजार ७ सय ५५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। तर यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा घटेको छ। सन् २०२५ जुलाईमा सार्क मुलुकबाट ३३ हजार ७ सय ८७ पर्यटक नेपाल आएका थिए। सार्कभित्र भुटानबाट ९ सय ९१, पाकिस्तानबाट ४ सय ७५, श्रीलंकाबाट ५ सय ८१ र माल्दिभ्सबाट ३९ पर्यटक आएका छन्।

दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४ सय २४ पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको जुलाईमा यस क्षेत्रबाट १३ हजार ५२ पर्यटक आएका थिए। यस आधारमा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ। चीनपछि दक्षिण कोरियाबाट १ हजार ३ सय ९४, मलेसियाबाट १ हजार ३ सय ८०, जापानबाट १ हजार १ सय ११, भियतनामबाट ५ सय ७४, सिंगापुर र म्यानमारबाट समान ४ सय ३७ तथा थाइल्यान्डबाट ४ सय २८ पर्यटक नेपाल आएका छन्।

जुलाईमा युरोपबाट ९ हजार २ सय ७९ पर्यटक नेपाल आएका छन्। कुल पर्यटक आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ। युरोपबाट बेलायतपछि जर्मनीबाट ७ सय २३, स्पेनबाट ६ सय ८१, फ्रान्सबाट ६ सय ४४, नेदरल्यान्ड्सबाट ५ सय १४, पोर्चुगलबाट ४ सय ८९ र रुसबाट ४ सय ६७ पर्यटक नेपाल आएका छन्।

यसैगरी अमेरिकी महादेशबाट ८ हजार ८ सय २४, ओसिनिया क्षेत्रबाट २ हजार ६ सय ७, मध्यपूर्वबाट ७ सय ३६ र अफ्रिकी मुलुकबाट ३ सय २४ पर्यटक नेपाल भ्रमणमा आएका छन्।