१८ श्रावण, काठमाडाैं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उहाँले चाहना हुँदाहुँदै पनि सेवा दिन नसकेको बताउनुभएको हो । उहाँले बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै साइबर अपराध तिब्र रूपमा बढिरहेको बताउनु भयो । साइबर सम्बन्धी मुद्दा प्रत्येक वर्ष बढ्दै गएको उल्लेख गर्दै उहाँले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गर्नुभयो । साइबर अपराधका उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानूनी नियमनका कारण अपेक्षाभन्दा लामो समय लाग्ने उहाँको भनाई छ । उहाँले साइबर अपराध नियन्त्रणका लागि कानून निर्माण र नियमन मात्र पर्याप्त नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहसहित सबै सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिकको साझा जिम्मेवारी आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार साइबर अपराध न्युनिकरणका लागि कानून कार्यान्वयनभन्दा पनि जनचेतना अभिवृद्धि प्रभावकारी उपाय हो । सामाजिक सञ्जाल प्रयोग गर्दा अधिकारसँगै जिम्मेवारी र कर्तव्यबारे पर्याप्त सचेतना नहुँदा साइबर अपराधका घटना बढिरहेको टिप्पणी उहाँको भनाई छ । सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार भएर गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सोसल मिडियाको प्रयोग बढ्दो छ । साइबर रिलेटेड केसहरू हरेक वर्ष बढ्दो छ, यो कुरा डाटाले देखाएको छ । तर हामीसँग यसको अनुसन्धान गर्ने जनशक्ति, स्रोत साधन मजबुत हुनुपर्ने हो, तर त्यो अवस्था छैन । जनशक्ति कम छ, प्रविधि कम छ । हामी सर्भिस दिन सकेका छैनौँ । गुणस्तरीय सर्भिस दिन सकेका छैनौँ । साइबर अपराधको सन्दर्भमा चाहेर पनि सर्भिस छिटो दिन सकिँदैन भन्ने कुरा मैले आफैँले पनि भोगेको छु । त्यसको प्रोसेस र नियमन गर्ने कुरा प्राविधिक विषय भएका कारणले चाहेभन्दा लामो समय लाग्ने अवस्था चाहिँ देखिने रहेछ । त्यसले गर्दा यससँग प्रभावित व्यक्तिहरूले सेवा छिटो नपाउने कारण बुझ्नुभन्दा पनि सेवा छिटो पाइएन भनेर गुनासो पनि बढ्दै गइरहेको छ । हामीले प्रभावकारी रूपमा नियमन गर्न पनि सकेका छैनौँ । यो समितिमा हामी कानून तर्जुमा र नियमनका कुरा गरिरहेका छोँ, यो वास्तविक र भ्यालिड कुरा हो । तर योसँगै हामीले बिर्सन नहुने कुरा के छ भने साच्चै यसको न्यूनीकरणका लागि हामी सबै पक्ष, सबै तहहरू र सरोकार राख्ने सबै व्यक्तिहरू उत्तिकै जिम्मेवार भएर लागेको छौँ कि छैनौँ, यो तर्फ पनि सोच्न जरुरी छ । नियम कानून कार्यान्वयन गर्नुभन्दा कार्यान्वयन गर्नै नपर्ने स्थितिको सिर्जना गर्नु सबैभन्दा ठूलो महत्वपूर्ण कुरा हो । खासगरी हामी हक अधिकारको कुरा धेरै उठाउँछौँ, त्यो प्रति हामी बढी सजग र जागरूक पनि छौँ । सँगसँगै कर्तव्य र जिम्मेवारीको कुरा ल्याप्सेस भएका कारणले यस्तो समस्याहरू आइरहेको छ । सोसल मिडिया प्रयोग गर्नु, सूचना थाहा पाउनु अधिकारको कुरा हो तर त्यो प्रयोग गर्दागर्दै फेरि म कत्तिको जिम्मेवार बन्नुपर्छ, मेरो कर्तव्य के हो भन्ने कुरा सँगसँगै उत्तिकै बुझाउन नसकेका कारणले पनि यो समस्या आइरहेको छ । सोसल मिडियाको सही व्यवस्थापन नहुँदा अथवा यो साइबर स्क्याम अपराध सम्बन्धी विषयलाई हामीले सही किसिमले नियमन गर्न नसक्दा राष्ट्रिय सुरक्षाको चुनौतीहरू चाहीँ दिनानुदिन बढ्दो छ । अबका दिनहरूमा हामीले राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन, सुरक्षा व्यवस्थालाई चाहिँ एउटा भरपर्दो र सुरक्षित बनाउन एकदम जटिल र चुनौतीपूर्ण क्षेत्र बन्दै आएको छ । यो तर्फ समेत हामीले ध्यान दिएर नियमन गर्नुपर्ने छ ।’
गृहसचिव श्रेष्ठले सामाजिक सञ्जाल र साइबर अपराधको प्रभावकारी व्यवस्थापन हुन नसके राष्ट्रिय सुरक्षामाथिको चुनौती झन् गम्भीर बन्दै जाने उल्लेख गर्नुभयो । साइबर सुरक्षालाई आगामी दिनमा राष्ट्रिय सुरक्षा सुदृढीकरणको प्रमुख प्राथमिकताका रूपमा लिएर प्रभावकारी नियमन र क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar