|  

बागमती सरकारमा हानेपाको प्रवेश, शैलेन्द्रमान बज्राचार्य बने भौतिक पूर्वाधार मन्त्री

१९ श्रावण, काठमाडौं । बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको संकेत देखिएको छ।

हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्य भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी भइरहेका बेला हानेपालाई सरकारमा सहभागी गराएका हुन्। बज्राचार्यलाई मन्त्री बनाउन यसअघिकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएकी छन्। मुख्यमन्त्रीको निर्देशनपछि उनको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी हानेपालाई दिइएको स्रोतले जनाएको छ। हानेपा सरकारमा सहभागी भएसँगै बागमती प्रदेशको सत्ता समीकरण थप रोचक बनेको छ। एमाले–नेकपा गठबन्धनले प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य गरिरहेको अवस्थामा हानेपाको सहभागिताले राजनीतिक अंकगणितमा नयाँ मोड ल्याएको विश्लेषण गरिएको छ।

यसअघि एमाले र नेकपाले सरकार गठनका लागि आवश्यक समर्थन नपुगेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वा हानेपासँग सहकार्य गर्ने विकल्प खुला राखेका थिए। अहिले भने हानेपा कांग्रेस नेतृत्वको सरकारमै सहभागी भएपछि सम्भावित समीकरण फेरिएको छ। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशमा एमाले र नेकपाबीच एमाले नेतृत्वमा सरकार बनाउने सहमति रहेकाले आगामी सत्ता समीकरण कसरी अघि बढ्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।