|  

‘मधेसमा शिक्षक किन छैनन्, सुरक्षाकर्मी मात्रै किन?’- सांसद अमरेशकुमार सिंहको सरकारलाई प्रश्न

१९ श्रावण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसप्रति राज्यको नीति र विकास प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले मधेसमा विकास र जनशक्ति व्यवस्थापनभन्दा सुरक्षा संयन्त्रलाई बढी प्राथमिकता दिइएको आरोप लगाए। उनले मधेसमा शिक्षक, डाक्टर र इन्जिनियरको अभाव कायम रहँदा ठूलो संख्यामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुने गरेको बताए। ‘मधेसमा शिक्षक किन नियुक्त हुन सक्दैनन्? सेना, प्रहरी र सशस्त्रका लागि बजेट छ भने शिक्षक, डाक्टर र इन्जिनियरका लागि किन छैन?’ उनले सरकारलाई प्रश्न गरे।

सांसद सिंहले मधेसका धेरै नागरिकले नेपाली सेनामा आफ्नो प्रतिनिधित्वको अनुभूति गर्न नसकेको उल्लेख गर्दै त्यसले मनोवैज्ञानिक दूरी बढाएको दाबी गरे। उनले कुनै आन्दोलन वा तनावपूर्ण अवस्थामा सुरक्षाकर्मीले बल प्रयोग गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। उनले मधेसलाई विकास र अवसरबाट पछाडि पार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै राज्यले सुरक्षा मात्रै होइन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखे।