|  

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी

१९ श्रावण, काठमाडौं । दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थको संकलन तथा निकासी प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आरोपपत्र दायर गरेको हो। यसै मुद्दामा सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, बुटवलका प्रबन्ध निर्देशक शहदेव खड्का तथा कम्पनीका प्रतिनिधि विकास पुन (विरास पुन) लाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिकाको वडा नं. १ र २ का विभिन्न स्थानबाट नदीजन्य पदार्थ संकलन तथा निकासीका लागि टेन्डर आह्वान गरिएको थियो। तर टेन्डर प्रक्रिया सम्पन्न भएपछि ठेकेदारसँग विधिसम्मत सम्झौता नगरी आपसी मिलेमतोमा कार्यालयबाट सहीछापसहित नगदी रसिद जारी गर्दै राजस्व संकलन गरिएको र त्यसक्रममा अनियमितता भएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले आरोपित सबै प्रतिवादीविरुद्ध जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम सजाय र बिगो असुलउपरको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।