|  

उद्योगीमाथिको छापाबारे कांग्रेस सांसद गच्छदारको प्रश्न: ‘प्रमाण थियो भने नतिजा कहाँ छ?’

१९ श्रावण,काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा गरिएको प्रहरी कारबाहीबारे सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।

अनुसन्धानका नाममा पर्याप्त आधारबिना छापा मार्ने कार्यले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उनको भनाइ छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गच्छदारले नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले साउन १८ गते उद्योगी मुन्दडाको घर तथा कार्यालयमा करिब पाँच घण्टासम्म खानतलासी गरे पनि कुनै शंकास्पद सामग्री बरामद हुन नसकेको उल्लेख गरिन्। उनले सरकारको सूचना संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठाउँदै अनुसन्धान अघि बढाउनुअघि पर्याप्त प्रमाण थियो वा थिएन भन्नेबारे स्पष्ट पार्न सरकारसँग माग गरिन्। “यदि पर्याप्त प्रमाण थियो भने त्यसको परिणाम कहाँ छ? र यदि पर्याप्त आधार नै थिएन भने एउटा उद्योगीको प्रतिष्ठामा पुगेको क्षतिको जिम्मेवारी कसले लिन्छ?” भन्दै गच्छदारले संसदमार्फत सरकारलाई प्रश्न गरिन्।

उनले अपुष्ट सूचनाको आधारमा व्यक्तिको मानमर्दन हुने गतिविधि रोक्न आग्रह गर्दै अपराध प्रमाणित भए कानुनी कारबाही गर्नुपर्ने तर केवल शंकाको आधारमा धरपकड र सार्वजनिक बदनाम गर्ने प्रवृत्ति स्वीकार्य नहुने धारणा राखिन्। सांसद गच्छदारले यस्ता घटनाले निजी क्षेत्र त्रसित र असुरक्षित महसुस गरिरहेको बताउँदै लगानीमैत्री वातावरणमा नकारात्मक असर परेको र राज्यप्रतिको विश्वाससमेत कमजोर हुने चेतावनी दिइन्।