|  

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

१९ श्रावण, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।

बजार २१.१५ अंकले ओरालो लाग्दै २,६६३.१८ विन्दुमा बन्द भएको हो।सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबार भएका कम्पनीमध्ये ५९ वटाको सेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजार दबाबमा रहे पनि केही कम्पनीको सेयरमा भने उल्लेखनीय वृद्धि देखियो। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढ्दा खानीखोला हाइड्रोपावरको १० प्रतिशत र जोशी पावरको ५ प्रतिशतले वृद्धि भएको छ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा कालिञ्चोक हाइड्रोपावर अग्रस्थानमा रह्यो। सिद्धार्थ बैंक र नेसनल हाइड्रोपावरको करिब १६/१६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेन्ट्रल फाइनान्सको १४ करोड र रिडी पावरको १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजारका सबै १३ उपसमूह राताम्मे देखिएका छन्। विशेषगरी उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ), अन्य (अदर्स) र ट्रेडिङ समूहका उपसूचक करिब १ प्रतिशतले घट्दै समग्र बजारमा दबाब कायम रहेको संकेत गरेका छन्।