|  

कोशी–मधेसका घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको माग

१९ श्रावण, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा बोल्दै आङ्देम्बेले घटनाबारे सरकारले स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए। उनले सुनसरी, सिरहा, धनुषा र पर्सालगायत जिल्लामा भएको घटनाक्रम तथा त्यसक्रममा नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय गम्भीर रहेको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरे। “यी घटनाको निष्पक्ष, विश्वसनीय र सत्यतथ्य छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्छ। साथै सरकारले घटनाबारे स्पष्ट जवाफ दिँदै आफ्नो जिम्मेवारी पनि लिनुपर्छ,” आङ्देम्बेले संसदमा भने।

उनले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षति पुगेको निजी तथा सार्वजनिक सम्पत्तिको यथार्थ विवरण संकलन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए। आङ्देम्बेले संवेदनशील घटनामा पारदर्शी अनुसन्धान र जवाफदेहितामार्फत नागरिकको विश्वास कायम गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।