|  

सुकुम्बासी समस्या समाधानमा सरकारलाई एमालेको साथ, ‘एकीकृत ढंगबाट अघि बढ्नुपर्छ’

१९ श्रावण, काठमाडौं । नेकपा एमालेले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

पार्टीले दीर्घकालीन समाधानका लागि दुवै समस्यालाई छुट्टाछुट्टै होइन, एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले भूमि व्यवस्थापनका क्षेत्रमा विगतमा भएका नीतिगत सुधारको चर्चा गर्दै त्यसलाई कार्यान्वयनको चरणमा प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आग्रह गरिन्। उनले एमाले नेतृत्वको सरकारले पहिलोपटक भूमि नीति निर्माण गरेको, भू–उपयोग ऐन ल्याएको तथा जग्गा वर्गीकरणको कार्यान्वयन प्रक्रिया अघि बढाएको उल्लेख गर्दै ती कदमले दीर्घकालीन समाधानको आधार तयार गरेको दाबी गरिन्।“भूमिहीन सुकुम्बासीको पीडा हामीले नजिकबाट बुझेका छौं। त्यसैले यो समस्या समाधानका लागि सरकारले अघि बढाउने प्रयासमा एमालेको पूर्ण सहयोग रहनेछ,” अर्यालले भनिन्।

उनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई फरक–फरक दृष्टिकोणबाट समाधान खोज्दा समस्या झन् जटिल बन्ने तर्क गर्दै एउटै नीतिगत ढाँचाअन्तर्गत दुवै पक्षको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइन्। अर्यालले सरकारलाई यस विषयमा स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र सबै पक्षबीच समन्वय गरेर दीर्घकालीन समाधानतर्फ अघि बढ्न आग्रह गर्दै नागरिकको भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक सहकार्य आवश्यक रहेको धारणा राखिन्।