|  

कांग्रेसले सांसदका स्वकीय सचिव नियुक्तिका लागि बनायो नयाँ मापदण्ड

१९ श्रावण, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संघीय संसद्का सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका स्वकीय सचिवको नियुक्ति, जिम्मेवारी र आचारसंहितालाई व्यवस्थित बनाउन ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ तयार गरिएको हो। कार्यविधिअनुसार स्वकीय सचिव नियुक्त गर्दा न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण र उमेर २१ वर्ष पूरा भएको हुनुपर्नेछ। कानुन, राजनीति, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, व्यवस्थापनलगायत विषय अध्ययन गरेकालाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। कांग्रेसले स्वकीय सचिवलाई केवल प्रशासनिक सहयोगी नभई सांसदको संसदीय काम, नीति विश्लेषण, कानुन निर्माण र निर्वाचन क्षेत्र समन्वयमा सहयोग गर्ने जिम्मेवार सहकर्मीका रूपमा परिभाषित गरेको छ।

कार्यविधिमा स्वकीय सचिवका लागि पाँचबुँदे आचारसंहिता पनि राखिएको छ। जसमा इमानदारी, गोपनीयता, निष्पक्षता, अनुशासन पालना, पदको दुरुपयोग नगर्ने र स्वार्थको द्वन्द्वबाट टाढा रहने व्यवस्था गरिएको छ। स्वकीय सचिवको कार्यसम्पादन मूल्यांकन जिम्मेवारी पूरा गर्ने क्षमता, अनुशासन, अनुसन्धान, सञ्चार कौशल, समन्वय र सांसदलाई प्रदान गर्ने सहयोगका आधारमा नियमित रूपमा गरिने कार्यविधिमा उल्लेख छ।