|  

सर्पदंश उपचारमा ‘एन्टी स्नेक भेनम’ अभाव छैन: मन्त्री मेहता

१९ श्रावण, काठमाडाैं ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ पर्याप्त मौज्दात रहेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले हाल केन्द्रीय स्टोर, प्रदेश आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय र उपचार केन्द्रहरूमा गरी १ हजार २ सय ६९ भायल एन्टी स्नेक भेनम उपलब्ध रहेको जानकारी दिइन्। उनका अनुसार मौज्दात भेनमबाट करिब ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने अनुमान गरिएको छ। थप १३ हजार २ सय भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको उनले बताइन्।

मन्त्री मेहताले तत्काल अभाव हुन नदिन आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिँदै सर्पदंश भएका व्यक्तिलाई घरायसी उपचारमा नअल्झिन आग्रह गरिन्। उनले रेबिजविरुद्धको भ्याक्सिन (एमआरभी) को आपूर्तिमा पनि समस्या नरहेको बताउँदै २ लाख ७४ हजार भायल खरिद प्रक्रिया अघि बढेको र करिब १ लाख ९० हजार भायल आपूर्ति भइसकेको जानकारी दिइन्।