|  

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने

२० श्रावण, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज र बुधबार राति सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात पनि हुन सक्ने छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली भू-भागका केही स्थानमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।