|  

ओलीसँग हिक्मत कार्कीले भनेः मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ

२० श्रावण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नगर्ने अडान लिएका छन् ।

ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएका थिए । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका थिए ।

‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन,’ कार्कीले अडान लिएका थिए । ओलीले भने नयाँ कोर्समा जान बाटो खुला गरिदिन आग्रह गरेका थिए ।

कार्कीलाई राजीनामा गर्न र नयाँ मुख्यमन्त्री बनाउने बाटो खुला गरिदिन ओलीले यसअघि पनि गुण्डु बोलाएर निर्देशन दिएका थिए । तर कार्की तयार भएनन् ।