|  

अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

२० श्रावण, काठमाडौं । अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ ।

यो टुक्रा ४ मेट्रिक टन गह्रौँ अर्थात् ४ हजार किलोको रहेको छ । गएको जनवरीमा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो । रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो एक बजेर २० मिनेट आसपासमा चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ । 

यो झण्डै ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ । रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान छ । सामान्य अभियानको तुलनामा बढी धक्का आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन ।

त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौँ टुक्रासँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो । नासाका अनुसार यसबाट तत्काल कुनै खतरा छैन । चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकले बताएका छन् ।