|  

सरकार संकटबाट भाग्न विषयान्तरमा केन्द्रित : कांग्रेस

२० श्रावण,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले नैतिक र राजनीतिक संकटको सामना गरिरहेका बेला समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वास गुमाउँदै गए पनि त्यसलाई पुनः स्थापित गर्ने ठोस पहल नगरी नयाँ–नयाँ बहस सिर्जना गरेर मूल मुद्दा ओझेलमा पार्न खोजिरहेको दाबी गरे। उनका अनुसार सरकारले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्ने अवस्थामा विषयान्तरको राजनीति गरिरहेको छ। यस्ता विषयहरू समय वा राजनीतिक रणनीतिले दबाउन नसकिने भन्दै उनले जनचासोका मुद्दा अन्ततः पुनः सतहमा आउने बताए। प्रवक्ता चालिसेले नेपाली कांग्रेसको उद्देश्य सरकारलाई अस्थिर बनाउनु नभई सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित बलियो तथा जिम्मेवार सरकार देख्न चाहेको स्पष्ट पारे। सरकार स्थायित्वका नाममा उत्तरदायित्वबाट उम्किन नहुने उनको भनाइ थियो।

उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति राखेको उल्लेख गर्दै सरकारका गतिविधिबाट लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र नागरिक अधिकार प्रभावित हुने अवस्था सिर्जना भएमा भने प्रतिपक्षको हैसियतले आवाज उठाउनु आफ्नो दायित्व भएको बताए।चालिसेले पछिल्ला राजनीतिक घटनाक्रमले सत्ता प्राप्त गरेपछि सबै दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नदेखिएको टिप्पणी पनि गरे। कुनै दलको लोकतन्त्रप्रतिको प्रतिबद्धता उसको विचार, राजनीतिक इतिहास, व्यवहार र भविष्यको कार्यदिशाबाट मूल्याङ्कन हुने उनले बताए।

कांग्रेसले सरकारलाई आलोचना मात्र होइन, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनविश्वास कायम गर्ने दिशामा अघि बढ्न पनि आग्रह गरेको छ।