|  

नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन

२० श्रावण, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुको विकल्प नभएको बताएका छन ।

बुधवार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको दाबी गरेका हुन । उनले २०६२-६३ को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्र्याइएका कतिपय अवधारणाहरूलाई सच्याउनुपर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दु राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताए । सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भत्र्सना गरे । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताको अनुपम नमूना भएको स्मरण गराउँदै उहाँले धर्मको नाममा भइरहेका विवादहरूले सामाजिक सद्भावमा खलल पु¥याएको बताए । 

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले यस विषयमा आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले धार्मिक सहिष्णुता यसको महत्वपूर्ण विशेषता हो । सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटना अत्यन्त दुःखद् छ । यस घटनाको पार्टी निन्दा तथा भत्र्सना गर्दछ । साथै, सरकारले संवेदनशीलतापूर्वक निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दछ ।

संसदभित्र र बाहिर देखिएका विभिन्न विवाद र घटनाको मूल कारण वर्तमान संविधान र त्यसले अवलम्बन गरेका केही नीतिहरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणा छ । पार्टीकाअनुसार २०६२र६३ को आन्दोलनपछि अपनाइएको राजनीतिक मार्गको पुनरावलोकन गर्ने समय आएको छ । पार्टीले नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्ने माग गर्दै आएको छ । यो धारणा सडकदेखि संसद्सम्म निरन्तर उठाइँदै आएको छ ।’ प्रदेश सरकार गठनको सन्दर्भमा राप्रपाको धारणा स्पष्ट पार्दै अध्यक्ष लिङदेनले राप्रपाले कुनै विशेष परिस्थिति आएको खण्डमा उचित निर्णय लिने बताए ।