|  

एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमले गठन गर्‍यो ‘क्विक रेस्पोन्स टिम’

२० श्रावण,काठमाडौं । बजारमा देखिन सक्ने एलपी ग्यास अभाव र आपूर्ति अवरोध तत्काल समाधान गर्न नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिसँग सम्बन्धित समस्या तत्काल पहिचान गरी समाधान गर्न मन्त्रालय, निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर विशेष संयन्त्र बनाइएको हो। टोलीमा उद्योग मन्त्रालयका मंगल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास व्यवसायीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। निगमका अनुसार देशका कुनै पनि क्षेत्रमा ग्यास अभाव वा वितरणमा समस्या देखिए टोलीले सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म सहज आपूर्ति सुनिश्चित गर्नेछ।

पछिल्लो समय बजारमा ग्यास अभाव हुँदा उपभोक्ता लामो लाइन बस्न बाध्य भएपछि समस्या समाधानका लागि यस्तो संयन्त्र सक्रिय बनाइएको निगमले जनाएको छ। उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी समस्या भए कार्यालय समयमा निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा जानकारी गराउन सक्नेछन्।