|  

नेपाल-दक्षिण कोरिया सम्बन्ध विस्तारमा जोड, राजदूत पार्कसँग परराष्ट्रमन्त्री खनालको भेट

२० श्रावण, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन कनेक्टिभिटी, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए। उनले लगानीका नयाँ क्षेत्र पहिचान गर्दै ऊर्जा र उत्पादनबाहेक अन्य क्षेत्रमा पनि सहकार्य बढाउनुपर्ने धारणा राखे। साथै, दुवै देशका अनुसन्धान संस्थाबीच शैक्षिक सहकार्य आवश्यक रहेको बताए। मन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई देशबीचको सम्बन्धको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै यसले जनस्तरको सम्बन्ध समेत बलियो बनाएको बताए।

तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कको योगदानको प्रशंसा गर्दै मन्त्री खनालले धन्यवाद व्यक्त गरे। राजदूत पार्कले नेपालका सांस्कृतिक विविधताको प्रशंसा गर्दै आफूले नेपाललाई सधैं सम्झिरहने बताए।