|  

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

२१ श्रावण, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्।

दुई वर्षपछि बुधबार भर्चुअल सम्बोधन गर्दै उनले जेल वा मृत्युदण्डको सामना गर्नुपरे पनि आफ्नो निर्णय नबदलिने बताइन्।

उनले आफूले स्वेच्छाले देश नछोडेको दाबी गर्दै २०२४ मा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ आएपछि बाध्य भएर ढाका छाड्नुपरेको उल्लेख गरिन्। हसिना त्यसयता भारतमा बस्दै आएकी छन्।

२०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै बंगलादेशको विशेष न्यायाधिकरणले उनलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो। त्यसपछि बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ।