|  

अमेरिकासँग ठूलो मात्रामा गोला–बारुद उपलब्ध छः डोनाल्ड ट्रम्प

२१ श्रावण, काठमाडौं । अमेरिकासँग अझै पनि प्रशस्त मात्रामा गोला–बारुद (म्युनिसन्स)रहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।

इरानसँग जारी युद्धका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)को हतियार भण्डार उल्लेखनीय रूपमा घटेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो सन्देशमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताए ।

केही विशेष प्रकारका गोला–बारुदको भण्डार निकै ठूलो रहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइरहेको दाबी पनि उनले गरे ।‘अमेरिकासँग ठूलो मात्रामा गोला–बारुद उपलब्ध छ । साथै आवश्यकताअनुसार नयाँ हतियार उत्पादन गरी निरन्तर आपूर्ति भइरहेको छ।’ पोष्टमा उनले लेखेका छन् ।

ट्रम्पले अमेरिकाको रक्षा उद्योगलाई पनि प्रशंसा गर्दै देशभर इतिहासकै सबैभन्दा धेरै रक्षा उद्योगका कारखाना निर्माण भइरहेको दाबी गरेका छन्। उनका अनुसार ती उद्योगहरूले भविष्यमा अमेरिकी सेनाको आवश्यकतालाई सहज रूपमा पूरा गर्नेछन् र राष्ट्रिय सुरक्षालाई अझ सुदृढ बनाउनेछन्।