|  

भारतीय अनुदानमा जनक माध्यमिक विद्यालयको भवन निर्माण सुरु, संयुक्त रूपमा शिलान्यास

२१ श्रावण, काठमाडाैं । बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-४ मा अवस्थित श्री जनक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा तथा नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक लक्ष्मी प्रसाद भट्टराईले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिब ६ करोड ३५ लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवनले स्थानीय विद्यार्थीलाई सुरक्षित, आधुनिक तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल-भारतबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय भवन निर्माण सम्पन्न भएपछि स्थानीय समुदाय र विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।