|  

भारतीय अनुदानमा जनहित माध्यमिक विद्यालयको भवन निर्माण सुरु

२१ श्रावण, काठमाडाैं । बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-७ मा रहेको श्री जनहित माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह,नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा तथा नेपाल सरकार (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मी प्रसाद भट्टराईले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन् । उक्त भवन भारत सरकारको करिब ५ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगमा निर्माण हुन लागेको हो। निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीले सुरक्षित, सुविधासम्पन्न तथा आधुनिक शैक्षिक पूर्वाधार प्राप्त गर्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा वक्ताहरूले नेपाल-भारतबीचको विकास साझेदारीअन्तर्गत शिक्षा क्षेत्रमा भइरहेको सहकार्यले स्थानीय समुदायको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। साथै, निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरी विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।