|  

त्रिविको बीए नतिजा अझै सार्वजनिक भएन, विद्यार्थीको उच्च शिक्षा र रोजगारीमा असर

२१ श्रावण,काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को तीनवर्षे बीए (२०८१) को आंशिक तथा मौका परीक्षाको नतिजा ढिलो हुँदा हजारौँ विद्यार्थी उच्च शिक्षा, रोजगारी र प्रवेश परीक्षाबाट वञ्चित भएका छन्।

बीए परीक्षा फारम २०८२ भदौमा भर्न सुरु गरिएको थियो। जेनजी आन्दोलनका कारण केही विद्यार्थी छुटेपछि कात्तिकमा दोस्रोपटक फारम भराइएको थियो। परीक्षा भने २०८३ जेठ १८ देखि २७ गतेसम्म सञ्चालन भए पनि नतिजा अझै सार्वजनिक भएको छैन। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी योगराज दाहालले नतिजा ढिलाइका कारण एलएलबी प्रवेश परीक्षामा सहभागी हुन नपाएको गुनासो गरे। उनका अनुसार आंशिक र मौका परीक्षाका करिब २ हजार ४३० विद्यार्थी नतिजा नआउँदा थप अध्ययन र रोजगारीका अवसरबाट प्रभावित भएका छन्। छिटो नतिजा सार्वजनिक गर्न विद्यार्थीहरूले त्रिविका विभिन्न निकाय र ‘हेलो सरकार’ सहित २३ स्थानमा निवेदनसमेत दिएका छन्।

यता, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ। कार्यालयका प्रवक्ता कविराज पौडेलका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ र आगामी दुई साताभित्र, अर्थात् भदौ पहिलो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी छ।

यसैबीच, परीक्षा र नतिजामा हुने ढिलाइ अन्त्य गर्न सरकारले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार परीक्षा सम्पन्न भएको ६० दिनभित्र र अन्तिम सेमेस्टरको नतिजा ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयलाई उक्त क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइसकेको जनाएको छ।