|  

खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी

२२ श्रावण, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गर्नुभएको छ । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दाबी गर्नुभएको हो । बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण शुरु भएपछि एलपी ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता सिर्जना भएको उहाँको भनाइ छ । उहाँले एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको बताउनु भयो । उहाँले बढ्दो मागलाई सम्बोधन गर्न नेपाल आयल निगम र मन्त्रालयले कुटनीतिक पहललाई निरन्तरता दिएको पनि बताउनुभयो । उहाँले कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्र बनाएको पनि बताउनु भयो । मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिव १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ । उहाँले बजारमा बढ्दो माग धान्नको लागि आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पठाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खाना पकाउने एलपी ग्यास अघिल्लो आर्थिक वर्षको तुलनामा हाल नियमित माग धान्न सक्ने परिणाममा नै ग्यास आयात र वितरण भइरहेको भएपनि २०८३ साल साउन महिनादेखि पुरा सिलिन्डर वितरण भएपश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही  असहजता सिर्जना भएको देखिन्छ । बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालय सरोकारवाला निकायसँग आवश्यक समन्वय समेत गरि आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ । पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कुटनीतिक पहललाई समेत निरन्तरता दिइएको छ । साथै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिव्र बनाएको छ । नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यास आयात, भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमानयोग्य बनाउनेतर्फ समेत सुधारका कार्यहरु प्रारम्भ भएका छन् । हाल देशभरी ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेटिक«क टन र दैनिकी फिलिङ क्षमता करिब एक करोड ७५ लाख ग्यास सिलिन्डर बजारिकरण भएको छ ।’

उहाँले नेपाल आयल निगम क्विक रिस्पोन्स टिम गठन गरि ग्यास नपाएको गुनासोको तत्काल सम्बोधन गर्नेगरी व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल