|  

रुसले बेच्यो ५ अर्ब डलरभन्दा बढीको सुन

२३ श्रावण, काठमाडौं । रुसले सन् २०२६ मा आफ्नो सुनको ठूलो हिस्सा बिक्री गरेको छ ।

विश्लेषकहरूका अनुसार युक्रेन युद्धका कारण बढ्दो रक्षा खर्च, बजेट घाटा र आर्थिक दबाब व्यवस्थापन गर्न रुसले यो कदम चालेको हो । रुसी केन्द्रीय बैंकका अनुसार जुलाईको सुरुसम्म रुससँग दुई हजार २८२ मेट्रिक टन सुन बाँकी रहेको छ ।

यो वर्षको सुरुभन्दा करिब ४३.५ मेट्रिक टन कम हो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु भएयताकै यो सबैभन्दा कम स्तरको सुन सञ्चिति भएको बताइएको छ । सुनको मूल्य यस वर्ष उच्च रहेकाले रुसले सुन बिक्रीबाट ५ अर्ब डलरभन्दा बढी रकम जुटाएको अनुमान गरिएको छ ।

युक्रेन युद्ध सुरु भएयता रुसको रक्षा खर्च लगातार बढिरहेको बताइएको छ । सन् २०२१ को तुलनामा रक्षा बजेट चार गुणाभन्दा बढी पुगेको छ । सन् २०२५ मा मात्रै रुसले करिब १६ ट्रिलियन रुबल रक्षा क्षेत्रमा खर्च गरेको थियो ।