|  

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

२३ श्रावण, काठमाडौं ।  शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ ।

राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् । बमले अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन् ।बमले अस्पतालमा तोडफोड गरेका छन् ।

पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा‍.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो । यसै विषयमा छलफल गर्न साँझ डा.अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए ।

छलफलमा आक्रमण गर्ने व्यक्ति, स्थानीय र जनप्रतिनिधि समेतको सहभागिता थियो । छलफलमा नमिल्ने भनेर राति पौने ९ बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यसलगतै अस्पताल प्रवेश गरी आक्रमण भएको डा.अलीले बताए ।