|  

एक सिलिण्डर ग्यास ७ हजारमा बेच्ने व्यक्ति पक्राउ

काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट बारुदखाना चोकस्थित डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो।

उपभोक्ताहरूलाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको महँगो दरमा ग्यास बिक्री वितरण गरिरहेको सुराकीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अनुगमन तथा चेकजाँचका क्रममा प्रहरीले घटनास्थलबाट ग्यासका ३ थान सिलिण्डर समेत बरामद गरेको छ। पक्राउ परेका त्वयनामाथि जिल्ला प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।